Kapil Pokharel Kapil Pokharel
लेख/Article
Apr 06, 2014
कति बाँकि छ सामन्तवाद ?

१. विषय प्रवेशः 
   यतिबेला, मुलुकमा हालैका सात दशकहरुमा सम्पन्न गरिएका तीन राजनीतिक क्रान्तिहरुको समष्टिलाई कसरी ग्रहण गर्ने भन्ने बहस व्यापक मात्रामा चलिरहेको छ । तीन मध्ये, पहिलो, २००७ सालको क्रान्तिले राणा शासन, दोस्रो २०४६ सालको संयुक्त जनआन्दोलनले राजाको निरंकुश शासन र तेस्रो २०६२÷०६३ को जनआन्दोलनले राजतन्त्रलाई नै समाप्त पारिदियो । यी तीनवटा राजनीतिक परिवर्तनहरुलाई हामीले तीन वटा क्रान्तिहरु नै मानिआएका छौं । यी मध्ये तेस्रो राजनीतिक क्रन्तिका उपलब्धीहरुलाई संस्थागत गर्ने प्रकृया जारी रहेकोले थप उपलब्धी हासिल गर्नका लागि हाल सम्मका उपलब्धीहरुको सही मूल्याङ्कन गर्नु जरुरी छ । यसले थप उपलब्धीको निम्ति हामीलाई अभिप्रेरित गर्दछ । तीनवटा क्रान्तिहरु,  यिनको प्रकृया र चरणहरुमा हामीले कति वा कुन मात्रामा आर्थिक सामाजिक परिवर्तन ल्यायौं ? यसको मूल्याङ्कन गर्ने पर्छ । यसै सेरोफेरोमा यस पक्तिकारले केहि महिनादेखि पार्टी कमरेडहरु तथा बौद्धिक समाजका बिच बहस चलाउने उद्देश्य समेत लिएर लेख विचारहरु प्रकाशन गर्दै आएको छ र त्यसैका श्रृखलाका रुपमा यो लेख प्रस्तुत गर्दैछु । 
२. सामन्तवादको चरित्रबारे ः 
   नेपालमा लिच्छिवीकाल भन्दा पहिले नै सामन्तवादले प्रवेश पाएको थियो । लिच्छिवी राजा अंशुबर्माले आफुलाई महासामन्त भनाएबाट के प्रष्ट हुन्छ भने– पहिलो, उनी भन्दा पहिलेका राजाहरु सामन्त थिए र दोस्रो, उनी थुप्रै सामन्तहरुको पनि सामन्त अर्थात महासामन्त बने । त्यसपछिका दिनहरुमा नेपालमा सामन्तवाद कायमै रह्यो । विक्रम सम्वतको वीसौं सताब्दीको आखिरी दशकमा नेपालमा दि जुद्ध म्याच फ्याक्ट्री, विराटनगर र रघुपति जुट मिल्सहरुको साथै पहिलो बैंकको रुपमा १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना संगै उद्योगधन्दामा आधुनिक प्रविधि र पूँजीको प्रयोगको सुरुवात भयो । यसै दशकबाट मात्र नेपालमा पूँजीवादले प्रवेश पायो र यस सँगै सामन्तवादको पतनको सुरुवात भयो । 
    राजालाई भगवानको अवतार बनाउने सामन्तवादले देश भित्रका सबै नागरिकलाई प्रजा बनाउथ्यो । स्वभाविकै थियो, राजा ‘बिष्णु भगवान’ को अवतार भएकोले देशको सम्पूर्ण भूभाग राज्यको हुन्थ्यो र राज्यको मालिक राजा (राजालाई विष्णु भगवानको अवतार मानिएको कारण पछिल्लो राजा ज्ञानेन्द्रको खुट्टा धोएको पानी खाने मानिस त हामी अझै देख्दैछौं र उनि राजा घाषित हुँदा खुट्टामा दाम चढाएर दर्शन गरेको पनि देखियो ।) राजा सबैको रक्षक र भक्षक पनि हुन्थे । राजाभन्दा माथि केहि हुदैनथ्थो र सबैको मालिक राजा नै हुन्थे । सेनाको मालिक राजा भएकोले, राजाको बोली नै कानुन हुन्थ्यो । देशको सबै जग्गा जमिन राज्यको हुन्थ्यो । त्यसको खटनपटन राजाबाटै हुन्थ्यो । राजा महासामन्त हुन्थे । महाराजधिराज हुन्थे र उनले राज्यको मूख्यसम्पत्ती– जमीन सामन्तहरुलाई विर्ताका रुपमा प्रदान गर्दथे । ती सामन्तहरु संग पनि असिमित जग्गा जमिन हुन्थ्यो । सामन्तहरुले आफ्नो जग्गा जमिन कमाउन किसानलाई दिन्थे र यसवापत आम्दानीको ठूलो अंश कुतको रुपमा असुल गर्थे । सामन्तले कमारा कमारी राखेर काम लगाउथे  अनि आफु ऐस आराम र भोग–विलासमा लिप्त हुन्थे । किसानका छोरी बुहारीको सुहागरात सामन्तकहाँ समर्पित हुन्थ्यो । सामन्तवादमा सामन्त नै न्यायाधिश हुन्थे । उसले झगडाको निसाफ गथ्र्यो र थुनछेक पनि गथ्र्यो । 
   सामन्तवादमा किसानहरुबाट उठाइएको मालपोत (कुत आदि) राज्यको मूल आयस्रोत हुन्थ्यो । सामन्तहरुलाई कुनै कर लाग्दैनथ्यो तर किसानहरु संग ठूलो मात्रामा कुत उठाइन्थ्यो र कुत तिर्न नसक्दा उठीबास लगाइन्थ्यो । किसानहरुले जिम्वालहरु (सामन्त)को खेतबारीमा काम गरे वापत कुनै ज्याला पाउदैनथे । यो चलन पञ्चायती व्यवस्थाको आखिरी सम्म पनि अवशेषको रुपमा देखिन्थ्यो । पञ्चायतको आखिरी सम्म बलिघरे प्रथा पनि कायमै थियो, ग्रामीण भेगमा कुटिर उद्योगहरु  र हस्तकलाको विकास भए पनि पूँजीको ठूलो मात्रा र आधुनिक प्रविधि सामन्तवादको आवस्यकता भन्दा भन्दा बाहिरैको कुरा हुन्थ्यो । सामन्तवादको विशेषता यहि हो र थियो । 
   ३. सामाप्तप्रायः सामन्तवाद र किशोर पूँजीवाद ः नेपालमा राणाशासनको अन्त्य देखि राजतन्त्रको अन्त्यसम्मका तीनवटा राजनीतिक क्रान्तिहरु र यसको वरपरका ८ दशकहरुमा सामन्तवादको समाप्ती र पूँजीवादको विकासको रफ्तार तिब्र रह्यो । बीसौं शताब्दीको आखिरी दशकबाट सुरु भएको पूँजीवादी विकासको प्रकृयामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय भूमिकाहरु समेत प्रसस्त देख्न सकिन्छ । साम्राज्यवादको रुपमा रहेको वर्तमान विश्वपूँजीवादले आफ्नो बजारको विस्तार गर्न मात्र होइन राजाको शासनलाई साम्राज्यवादबाट विच्छेद गर्न समाजवादी मित्रराष्ट्रहरु तत्कालिन सोभियतसंघ र चीनको सहयोगमा विगतको पञ्चायकालमा नेपालमा १०,००० जनालाई प्रत्यक्ष रोजगारी दिने हेटौडा कपडा उद्योग (चीनको सहयोगमा निर्मित), भृकुटी कागज कारखाना र बाँसवारी छाला जुत्ता कारखाना (चीनको सहयोगमा निर्मित यी कारखाना आज विनास गरिएको छ) जस्ता आधुनिक उद्योगहरुले पनि नेपालमा पूँजीवादको विकासमा मद्दत गरेको सबैको सामु छर्लङ्ग छ । सोभियत समाजवाद समाप्त भएको र चीनयाँ समाजवाद आफ्नो मुलुकको रणनैनिक विकासको चरणमा रहेको पछिल्ला दुई दशकहरुमा भारत र पश्चिमा साम्राज्यवादी शक्तिहरु एवं नवउपनिवेशवादी अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले नेपाललाई आफ्नो स्वार्थका आधारमा सामन्तवादबाट माथि उठाई पूँजीवादको विकास गराउन उद्दत रहेकोले पनि नेपालमा सामान्तवाद समाप्तप्रायः भएको छ । यहाँ स्मरणीय के छ भने, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन जस्ता निकायहरु साम्राज्यवादी राज्यहरुद्वारा विश्वबजार कब्जागर्न निर्माण गरेका सिण्डिकेट संस्थाहरु हुन् र यीनीहरुको सहयोगमा विकास हुने पूँजीवादको स्वरुप दलालपूँजीवादी मात्र हुनेछ । त्यस्तै ती संगठनहरुको ‘सहयोग’ नेपाललाई नवउपनिवेस बनाउनमा केन्द्रित छ ।   
   क्रान्तिकारी राष्ट्रिय कारणहरु, साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय सहयोग र साम्राज्यवादी वा नवउपनिवेशवादी वाह्यप्रभावहरुका समेत परिणामस्वरुप मुलुकमा ठूलो परिवर्तन आएको छ । यसबाट मुलुकमा सामन्तवाद मृतप्रायः भएको छ र पूँजीवाद किशोरावस्थामा प्रवेश गरेको छ । यहाँनेर हामीले ध्यान पु¥याउनु पर्ने सवाल के हो भने, नेपालमा वेलायतको औधोगिक क्रान्ति, फ्रान्सको राज्यक्रान्ति, रुसको अक्टोबर क्रान्ति वा चीनीयाँ नयाँजनवादी क्रान्ति जस्तो क्रान्ति भएको होइन नेपाली क्रन्तिको आफ्नै चरीत्र छ । (कृपया जनपक्राश वर्ष ६ अंक ६ पनि हेर्नुहोस् ।) २००३ सालमा गठित बुर्जुवा लोकतन्त्रवादी नेपाली काँग्रेस र २००६ सालमा गठित सर्वहारावर्गको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी (हाल विभिन्न धाराहरुमा विभाजित) को सहकार्यमा नेपालमा तीनवटा क्रान्तिहरु भएका हुन् । वैचारिक, राजनीतिक र भौतिक नेतृत्व काँग्रेसको पहिलोमा धेरै, दोस्रोमा वरावरी र तेस्रोमा कम रह्यो भने कम्युनिष्ट पार्टीको पहिलोमा कम, दोस्रोमा बराबरी र तेस्रोमा बढि मात्राको रह्यो । यो चित्रले विकासको गति सकारात्मक दिशातर्फ बढेको नै देखाउँछ । तर यति हुँदाहुँदै पनि अन्य कारणहरुसमेत तीनवटा क्रान्तिहरुद्वारा बिकसित वर्तमान किशोरावस्थाको पूँजीवाद दलालपूँजीवादको अवस्थामा छ, यसले राष्ट्रिय वा औधोगिक पूँजीवादको चरित्र ग्रहण गर्न सकेको छैन । नयाँ जनवादी स्वरुप त परैको कुरा ।
    अब, नेपाललाई सामन्तवादबाट पूँजीवादमा विकास गराउने केही सूचकहरुको अध्ययन गरौं । 
   क) शिक्षा क्षेत्रमा आएको परिवर्तन ः नेपालमा आधुनिक शिक्षाको सुरुवात भएको मुस्किलले सय वर्ष पुग्दैछ । सामन्तवाद उत्कर्षमा पुग्दा राणा प्रधानमन्त्री चन्द्रसम्शेरले त्रिचन्द्र कलेजको स्थापना गरेका थिए । उनले कलेजको उद्घाटन गरेर दरबार फर्केपछि आफ्नै चिहान खन्ने काम गरेको भनेर पश्चाताप पनि गरेका थिए । राणा शासनको अन्त्यसम्ममा आधुनिक स्कुल–कलेज मुस्किलले एक दर्जन पनि थिएनन् । राणा शासनको समाप्ती सँगै खुल्न थालेको स्कुल कलेजहरु दिनानु दिन बढ्दै गए । पछिल्लो दुईदशकमा त यसको बाढि नै आयो र हाल कलेज नभएको कुनै जिल्ला छैन । पहिलो विश्व विद्यालय २०१३ सालमा स्थापित भएको थियो, त्रि.वि.वि. । हाल आएर यो संख्या बढेर ८ वटामा पुगेको छ भने विदेशी विश्वविद्यालयहरुका सम्बन्धनमा चलेका कलेजहरु पनि दर्जनौ छन् । स्तुतिगानमा आधारित विद्यालयहरु (गुरुकुल आश्रम, गुम्बा र मदरसा) केहि मात्रामा खुलेकाले देशमा प्रजातन्त्र स्थापना भएपछि २००९ मा लिइएको तथ्याङ्क अनुसार ५.३ प्रतिशत नागरिकहरु साक्षर थिए । हाल आएर यो संख्यामा ठूलो परिवर्तन भएको छ । जनसंख्याको दुई तिहाई हिस्सा साक्षर छ । हाल देशभरमा सामुदायिक र संस्थागत गरी ३८ हजार भन्दा बढि विद्यालयहरु र एकहजार भन्दा बढि क्याम्पसहरु छन् । यतिमात्र होईन २५ हजार भन्दा बढि नेपाली विद्यार्थीहरु विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्दछन् । सामन्तवादलाई समाप्त पार्ने एउटा कारण शिक्षा नै हो र यसै अंकले देखाउछ कि सामन्तवाद समाप्त प्राय छ । 
   ख) प्राविधिक र यातायातको विकास ः प्रविधिको विकास हुनु स्वभाविकै रुपमा पूँजीवादको विशेषता हो । नेपालमा एक्काइसौ शताब्दीमा सूचना प्रविधिको द्रुत्ततर विकास भैरहेको छ । हाल मुलुकमा आधुनिक उद्योग धन्दाहरु खुलेका छन् । जसमा अत्याधुनिक प्रविधिको प्रयोग भएको । यसले वस्तुउत्पादनमा मानिसको श्रमको  मात्रालाई घटाएको छ । सूचना प्रविधि र विद्युतीय प्रविधिको उपयोग उत्कर्षमा पुग्दैछ । आज मुलुकका दुईतिहाई बढि मानिसको हातमा मोबाइल फोन छ । काठमाण्डौका गल्ली होइन कर्णालीका पहाड पर्वतहरुमा पनि मोबाइल चल्न थालेको छ । संसारको जुनसुकै कुनाको समाचार केहि सेकेण्ड भित्रै विश्वव्यापीकरण हुन सक्छ । विकसित पूँजीवादी राष्ट्रहरुको तुलनामा नपुगे पनि नेपालमा पनि आधुनिक सूचना प्रविधिको प्रसस्तै विकास भएको छ । यसबाट के बुझिन्छ भने सूचना र प्रविधिको विकासले समाजलाई पूँजीवादमा रुपान्तरण गराउन ठूलो मद्दत गरेको छ । सूचना प्रविधिको विकास पूँजीवादी विकासको सूचक हो । 
    यातायातको विकासको कुरा गर्ने हो भने नेपालमा पूँजीवादको प्रवेश पूर्व आधुनिक यातायातका साधन नै थिएनन् । राणाहरुले काठमाण्डौ उपत्यकामा आफ्नो सुविधाको निम्ति साना गाडिहरु ल्याएका थिए । काठमाण्डौसम्म साना गाडिहरु भिमफेदी–चितलाङ्गको बाटो हुदै बोकाएर ल्याइएको थियो । यसको विपरित आजको देशको ७५ मध्ये ७३ जिल्ला सदरमुकामसम्म सडक यातायतको पहुँच पुगेको  छ । विराटनगर बोर्डरमै पर्ने भएकोले १९९४–९५ ताक उद्योगहरु खुलेको हुनुपर्छ । तर सामन्तवादको पतनका विपरित पूँजीवादको विकास र सडक यातायातको विकासले शहर र गाउँ बिचको सम्पर्क मात्र विस्तार गरेको छैन । कर्णालीको जडिबुटी शहर र विदेश सम्म अनि विदेशी आधुनिक मालहरु कर्णालीका बस्तीहरु सम्म विस्तार गरेको छ । 
   ग) श्रमको चरित्रमा आएको परिवर्तन र कृषि प्रविधिको विस्तार ः माक्र्सवादी दृष्टिकोण अनुसार करार श्रम पूँजीवादको एउटा सूचक हो । करिब पच्चिस वर्ष अघि गाउँको जिम्वालको खेतमा विना ज्याला काम गर्ने जनहरुको लर्को यही स्तम्भकारले देखेको हो तर आज त्यो स्थिति छैन । बालिघरे प्रथा पनि सकियो, कमारा–कमारी राख्नेलाई कानुनले रोकेको छ । हलिया, कमैया आदिको उम्मुलन सामन्तवादको समाप्ति कै उपज हुन् । अहिले एकजना कृषि श्रमिकको ज्याला पाँचसयको हाराहारीमा छ । परंपरागत कृषि पनि अहिले ज्यालादारी श्रममा आधारित छ । भौगोलिक विकटताका कारण पहाड र हिमालमा हलो जोत्नुको विकल्प नभएपनि तराईका अधिकांस क्षेत्रहरुमा आज ट्रयाक्टरको प्रयोगले हलो जोत्ने हली आज  ट्रयाक्टर ड्राइभर बनेको छ । धान चुट्ने, गहुँ काट्ने/चुट्ने थ्रेसरको प्रयोगले श्रम दिवश घटाएको छ । त्यतिमात्र होइन कुखुरा पालनमा प्रयोग हुने अत्याधुनिक ह्याचिङ्ग मेशिन आदिको कारणकुखुरापालन जस्तो कृषि एउटा आधुनिक उद्योग कै रुपमा विकसित भएको छ । 
   अर्कोतर्फ जनगणनामा मुख्य पेशा कृषि लेखाए पनि उनीहरुको आम्दानीको पेशा भने फरक छ । ती के हुन सक्छन् ? वैदेशिक रोजगारी, साना व्यपार संगठीत वा असंगठीत क्षेत्रको ज्यालादारी श्रम आदि । यसले पनि सामन्तवाद समाप्त भएकै देखाउछ ।  
   घ) वैदेशिक रोजगारी र यसको प्रभाव ः आज मुलुकको औपचारिक तथ्याङ्क अनुसार बीस लाख र औपचारिक अनुमान अनुसार तीसलाख मानिसहरु वैदेशिक रोजगारीमा छन् । जापान, कोरिया, मलेसिया, चीन (हङ्गकङ्ग), भारत, कतार आदि मध्यपूर्वका खाडी राष्ट्रहरु, युरोप, अमेरिका र अष्ट्रेलियामा श्रम गर्न र अध्ययन गर्न समेत गएका नेपालीहरुले औपचारिक माध्यमबाट (बैंक आदि) मात्र पछिल्लो तथ्याङ्क अनुसार प्रतिवर्ष ४ खर्व ६० अर्व रकम रेमिट्यान्सका रुपमा नेपाल पठाएका छन् । यो अंक नेपालको कुल ग्राह्यस्त उत्पादनको २३ प्रतिशत हँुदो रहेछ । तीस लाख मानिस विदेशमा छन् भन्ने अनुमान अनुसार विश्लेषण गर्दा तीस लाख जनताको आश्रित परिवार एक करेडा पचासलाख जनसंख्या हुन आउँछ । यो नेपालको जनसंख्याको मूलश्रोत वैदेशिक रोजगारी देखिन्छ । वैदेशिक रोजगारीले सामन्ती अर्थप्रणाली संग साइनो राख्दैन । यस आधारमा नेपालमा सामन्तवाद छैन भन्न कठिन हुदैन । 
   ङ) बैंक र वित्तिय संस्थाको विकास ः नेपालमा पूँजीवादले प्रवेश गरे सँगै एउटा बैंक स्थापना गरिएको थियो, नेपाल बैंक लिमिटेड । पछि नेपाल राष्ट्र बैंक खुल्यो सरकारको बैंकका रुपमा । बाणिज्य बैंक र कृषि विकास बैंक जस्ता सरकारी स्वामित्वका बैंकहरु खुले । पञ्चायतको आखिरी तिर उदारीकरणको प्रभावका कारण केहि विदेशी लगानी र प्राइभेट लगानीमा नीजि बैंकहरु खुले । पञ्चायतको समाप्ती पछि वहुदलीय संसदीय लोकतान्त्रिक कालमा बैंक र वित्तिय संस्था खोल्ने लहर नै चल्यो । हाल साना ठूला गरी १९० बैंकहरु, २ दर्जन माइक्रो फाइनान्स र २५ हजार दर्ता भएका सहकारी मध्ये ११ हजार भन्दा बढि बचत तथा ऋण सहकारीहरु पूँजी संकलन र लगानीका प्रकृयामा छन् । यिनीहरुले नेपालमा पूँजीको खेती गरिरहेका छन् । यिनीहरुले मुलुकलाई सामन्तवादबाट पूँजीवादमा द्रुतगतिले धकेलिदिए र सामन्तवादलाई धरासायी पार्न योगदान गरे । 
   च) कुल ग्रह्यस्थ उत्पादनमा कृषिको योगदान ः उत्पादन सम्बन्ध कस्तो छ भन्ने थाहा पाउन नेपालको कुल ग्राह्यस्थ उत्पादनमा कुन क्षेत्रको भूमिका के छ  भन्ने हेर्नु जरुरी छ । एउटा उद्धरण गरिएको तथ्याङ्क अनुसार सन् १९७४ मा जी.पी.डी. को ७० प्रतिशत मा कृषिको योगदान थियो । त्यो अंक १९८४–८५ मा घटेर ५० प्रतिशतमा र हाल ३५ प्रतिशतमा आइपुगेको  छ । यो ३५ प्रतिशत पनि परम्परागत कृषिको मात्रै होइन । ३५ प्रतिशत मध्येको ८ प्रतिशत आधुनिक कृषि अर्थात पोल्ट्री फार्मिङ्गको हुनेरहेछ भने माछा पालन, गाई पालन आदि र तरकारी खेती पनि कटाउने हो भने परंपरागत कृषिको योगदान २३ प्रतिशत छ । यो चित्रले के देखाउछ भने सामन्तवाद अब अवशेषमा मात्र बाँकी छ । 
   छ) राजश्वको क्षेत्र ः सामन्तवादी अर्थतन्त्र मालपोतमा टिकेको हुन्छ । एउटा तथ्याङ्क अनुसार वि.सं. २००८ सालमा तत्कालिन अर्थमन्त्री सुवर्णशम्सेरले प्रस्तुत गरेको बजेटमा वि.सं. २००७ मा कुल राजस्वको ६२ प्रतिशत मालपोतबाट मात्रै उठेको थियो । तर आज राजश्वमा मालपोतको हिस्सा सुन्य छ । मालपोत अहिले गा.वि.स., नगरपलिका र जि.वि.स.को सामान्य श्रोत मात्र बनेको छ । अहिलेको बजेट ५ अर्वमा मालपोतको योगदान सुन्य छ भने व्यापार, उद्योग, पर्यटन आदिको साथै आयकर आदिको योगदानले राजश्वको ठूलो हिस्सा (गत वर्ष ३०० अर्वभन्दा बढी उठेको थियो) ओगट्छ । अतः सामन्तवाद भनेकै भूमिको कुर र कृषिमा आधारित उत्पादन सम्बन्ध भएकोले राज्यको बजेटमा मालपोतको हिस्सा सुन्य हुनुले सामन्तवाद समाप्त भएकै प्रष्ट हुन्छ । 
   ज) राज्यसत्ता र राजनीतिक क्षेत्र ः राजनीति सबै नीतिको मूल नीति हो । अन्य सूचकहरुका बावजुद राजनीतिक क्षेत्रमा सामन्तवाद रहेको भए यो मौजुदा रहेको मान्नु पर्दथ्यो । तर अवस्था भिन्न छ । राज्यसत्तामा सामन्तवादको शिरोच्छेदन भैसकेको छ । (कृपया हेर्नुहोस् जन प्रकाश उही) 
   ऐन–कानुन र अदालत, प्रहरी सहितको सेना, कर्मचारी तन्त्र, मन्त्रीमण्डल र संसदको संयुक्त नाम राज्यसत्ता हो भन्दा ठिक होला । सर्वहारा वर्गको पार्टीले चुनाव लड्न थालेको २०४७ साल देखि नै हो । त्यतिखेर राजतन्त्र भएकोले स्थिती प्रतिकुल नै थियो तैपनि पटक पटक एमालेको एकल वा संयुक्त सरकार बन्यो । पछिल्लो परिवर्तन पछि एमाओवादी पनि एमाले कै हाराहारीमा गएको छ । ६२ प्रतिशत सम्म बामपन्थी बर्चस्व रहेको संसद पनि रहेको थियो । त्यसैले कानुनमा प्रसस्त परिवर्तन भएका छन् । यसलाई अब जनविरोधी भन्न मिल्दैन । अदालतको नेतृत्वमा पनि यीनले नियुक्त गरेका मानिसहरु पनि माथिल्लो ओहदा सम्म पुगिसकेका छन् । 
    सेना–पुलिसको कुरा गर्ने हो भने यसलाई अब जनविरोधी भन्न मिल्दैन । पुलिस त २०४७ बाटै निर्वाचित सरकारको मातहतमा सञ्चालित भै सकेको हो । सेनाको शंका थियो । सेनाले पनि २०६२/६३ पछि र बिशेषतः राजतन्त्रको समाप्तिलाई समर्थन जनाएर आफुलाई लोकतान्त्रिक बनायो । कर्मचारीतन्त्रमा कतिपय सामन्त सस्कृतिका बाबवजुद लोकतान्त्रिक नै छ अनि संसदमा सामन्तवादी प्रवृत्तीका केहि दल भए पनि निर्णायक छैनन् र वर्तमान सरकारमा सामन्तवादी शक्ति छैनन् । त्यसैले यसले के निश्कर्ष दिन्छ भने राज्यसत्तामा सामन्तवाद कमजोर छ । राजनीतिक क्षेत्रमा सामन्तवाद मृतप्राय छ । 
   बहस र छलफलको क्रममा रहेको यस विचारलाई समृद्ध पार्न पार्टीनेता कमरेडहरु तथा विद्वान मित्रहरुको सुझाव, आलोचना र टीप्पणीका  लागि हार्दिक आग्रह गर्दछु । 
   ०९/१२/२०७०
   जनप्रकाश ६।६, २०७० चैत १०
 
 
 

Attachments#
????? ?????????.doc (62 KB) सकियो सामन्तवाद Download
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी